बजेटमा सहमति नजुट्दा लुम्बिनी प्रदेश सभा बिहीबारसम्मका लागि सर्‍यो

1.9k Shares

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक लगातार तेस्रो दिन पनि प्रभावित भएको छ । सत्ता पक्षकै केही सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि मंगलबार बैठक सुरु भएलगत्तै सत्ता पक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटको विरोध गरेपछि सभामुख तुलाराम घर्ती मगरले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । त्यसपछि पनि सहमति नजुटेपछि बैठक बुधबारका लागि सारिएको थियो ।

तर बुधबार पनि दलहरूबीच सहमति कायम हुन नसकेपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी गर्दै बैठक बिहीबारसम्मका लागि स्थगित गरेको जनाएको छ । यसअघि सोमबार पनि सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ समयमै उपलब्ध नगराइएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो ।

नेकपा (एमाले) की सांसद नरमाया ढकालले बजेट निर्माण प्रक्रियामा सांसदहरूले सिफारिस गरेका योजनाहरू हटाइएको र मुख्यमन्त्री तथा मन्त्रीहरूले एकलौटी रूपमा योजना समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले सांसदहरूले सिफारिस गरेका योजना काटेर मुख्यमन्त्री तथा मन्त्रीहरूको इच्छाअनुसार बजेट विनियोजन गरिएको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप बैठक अवरुद्ध गर्नुपरेको बताउनुभयो ।

बजेटप्रति देखिएको असन्तुष्टि समाधानका लागि समय आवश्यक रहेको भन्दै सरकारले मंगलबार सभामुखसँग बैठक स्थगित गर्न आग्रह गरेको थियो। तर सत्ता पक्षभित्रकै असन्तुष्टि समाधान हुन नसक्दा प्रदेश सभा बैठक पुनः स्थगित भएको हो ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेसँगै त्यसका विभिन्न पक्षलाई लिएर सत्ता गठबन्धनभित्रै असन्तुष्टि चुलिएको देखिएको छ ।

 
 
सम्बन्धित समाचार