छाताको प्रयोग बढेसँगै लोप हुँदै पहाडिया समुदायको परम्परागत ‘घुम’

1.6k Shares

रौतहट । आधुनिक छाताको प्रयोग बढ्दै जाँदा रौतहटका पहाडिया समुदायले घाम र वर्षाबाट जोगिन प्रयोग गर्ने परम्परागत ओढो ‘घुम’ लोप हुने अवस्थामा पुगेको छ। एक समय ग्रामीण जीवनको अभिन्न हिस्सा रहेको घुम अहिले प्रयोगबाट मात्रै होइन, निर्माण गर्ने सीपसमेत हराउँदै गएको छ।

केही दशकअघिसम्म वर्षायाम सुरु हुनासाथ गाउँघरका मानिसहरू मेलापात, खेतबारी र हाटबजार जाँदा बाँसको चोया र भोर्लाको पातबाट बनाइएको घुम ओढ्ने गर्थे। यसले घाम र वर्षाबाट जोगाउनुका साथै स्थानीय संस्कृति र जीवनशैलीको पहिचान पनि बोकेको थियो।

चन्द्रपुर नगरपालिका–३ का ज्येष्ठ नागरिक बुद्धिबहादुर थिङले पहिले गाउँका अधिकांश घरमा घुम बनाइने भए पनि अहिले त्यो परम्परा हराएको बताउनुभयो। उहाँका अनुसार नयाँ पुस्तामा घुम बनाउने सीप हस्तान्तरण हुन नसक्दा यो मौलिक परम्परा लोपोन्मुख बनेको छ।

गुजरा नगरपालिका–कटानीकी किशोरी निर्मला सिवाकोटीले अहिलेको पुस्ताले घुम प्रयोग नगर्ने र आफूले प्रत्यक्ष रूपमा घुम देख्नसमेत नपाएको बताउनुभयो। उहाँका अनुसार घाम र वर्षाबाट बच्न छाता नै सहज विकल्प बनेको छ।

जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थी रुपेश चौधरीले झोलामा राख्न मिल्ने, बोक्न सहज हुने र विभिन्न डिजाइनमा उपलब्ध हुने भएकाले युवापुस्तामा छाताको प्रयोग बढेको बताउनुभयो। यद्यपि जिल्लाको दक्षिणी भेगका केही थारु र मधेशी समुदायमा बाँस र पातबाट बनेको परम्परागत छतरी भने अझै सीमित रूपमा प्रयोग हुँदै आएको छ।

मा.वि. जुडिबेलाका शिक्षक गोपाल आचार्यले घुमको लोप हुनु एउटा वस्तु हराउनु मात्र नभई पुस्तौँदेखि जोगिँदै आएको स्थानीय सीप, प्रविधि र सांस्कृतिक सम्पदाको समेत क्षय भएको बताउनुभयो। उहाँले परम्परागत ज्ञान र सीपको संरक्षणमा ध्यान नदिए भावी पुस्ताले ‘घुम’को नामसमेत थाहा नपाउने अवस्था आउने चेतावनी दिनुभयो।

सम्बन्धित समाचार