चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अघि बढेसँगै उम्मेदवारहरू मत माग्न व्यस्त भएका छन् भने प्रतिनिधिहरू मतदानका लागि लामो लाइनमा उभिएका छन्।
छ दिनदेखि जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारी चयनको प्रक्रिया सुरु भएको हो। अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै उम्मेदवारहरूले प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।
यस चरणमा महिला उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री ३ पदका लागि निर्वाचन भइरहेको छ। सहमहामन्त्रीमध्ये एक पद महिलाका लागि छुट्याइएको छ।
लामो समयसम्म चलेको महाधिवेशनका कारण प्रतिनिधिहरू केही थकित देखिए पनि मतदानमा उत्साह कायम रहेको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लाम लागिरहेको छ भने महाधिवेशनस्थलमा सांस्कृतिक प्रस्तुति र नाचगानसमेत भइरहेको छ।
रास्वपाले यसअघि पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिसकेको छ भने अब पदाधिकारी चयनसँगै प्रथम महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।