प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने पक्राउ गर्न संयुक्त माग

1.5k Shares

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै भएको आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कर्मचारी र विभिन्न संघ–संगठनले संयुक्त रूपमा माग गरेका छन्।

घटनापछि गाउँपालिकाका कर्मचारी, स्थानीय तहका कर्मचारी संगठन तथा विभिन्न पेशागत संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि कार्यालयभित्रै भएको आक्रमणलाई गम्भीर आपराधिक घटना भएको बताएका छन्। दोषीलाई अविलम्ब पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न तथा कर्मचारीलाई सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न उनीहरूको माग छ।

बिहीबार बिहान प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा निर्माण व्यवसायीसहितको समूह प्रवेश गरी उनीमाथि कुटपिट गरेको आरोप छ। घटनामा बस्नेत घाइते भएका थिए भने उनको स्थानीय अस्पतालमा उपचार गरिएको थियो। घटनापछि गाउँपालिकाका कर्मचारीले सुरक्षा सुनिश्चित नभएसम्म कामकाज प्रभावित हुने चेतावनीसमेत दिएका छन्।

यसैबीच, प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। केही आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन र प्रहरीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार