डा. जानकीकुमारी तुलाधरलाई निर्वाचन आयोगको कार्यवाहक प्रमुखको जिम्मेवारी

1k Shares

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी २३ असारमा ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि आयोगको वरियताअनुसार डा तुलाधरलाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।

भण्डारीकै नेतृत्वमा गत २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय रहने आयोगमा हाल डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्।

यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल ५ वैशाख २०८२ मा सकिएको थियो भने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल ४ फागुन २०७९ मा अवकाश भएका थिए।

उता, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।

सम्बन्धित समाचार