देवचुलीका किसानलाई ९२ लाखका आधुनिक कृषि उपकरण अनुदानमा वितरण

1.1k Shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले किसानलाई ९२ लाख रुपैयाँ बराबरका आधुनिक कृषि सामग्री अनुदानमा वितरण गरेको छ । कृषि उत्पादन वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने उद्देश्यले कृषि नवप्रवर्द्धन साझेदारी परियोजनामार्फत किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

शाखा प्रमुख गगन भट्टराईका अनुसार परियोजना, नगरपालिका र किसानको ५०–५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको हो। यस कार्यक्रमबाट १३ भन्दा बढी कृषक समूह तथा ७० भन्दा बढी व्यावसायिक किसान र कृषि उद्यमी लाभान्वित भएका छन्।

नगरपालिकाले किसानको आवश्यकता र मागका आधारमा ३० वटा ६ हर्जपावरका हातेट्याक्टर, २८ वटा ७ हर्जपावरका हातेट्याक्टर, सात वटा धान काट्ने मेसिन, २१ वटा मकै रोप्ने मेसिन (ज्याब प्लान्टर), चार वटा पुस सिडर, १० वटा कर्न थ्रेसर, छ वटा कुटानी–पिसानी मेसिन, एक वटा दाना बनाउने मेसिन, एक वटा तौल मेसिन, एक वटा धान तथा गहुँ काट्ने र थ्रेसिङ गर्ने कम्बाइन हार्भेस्टर तथा एक वटा ट्रेलर वितरण गरेको छ ।

ठूला ट्र्याक्टर सञ्चालन गर्न कठिन हुने पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै हातेट्याक्टर उपलब्ध गराइएको शाखाले जनाएको छ । यस्तै, देवचुली–४ वडा कार्यालयले पनि आफ्नै कार्यक्रमअन्तर्गत तीन वटा ७ हर्जपावरका हातेट्याक्टर, दुई वटा मकै रोप्ने मेसिन, चार वटा पुस सिडर र दुई वटा कुटानी–पिसानी मेसिन वितरण गरेको छ । ती सामग्री खरिदका लागि वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले आधुनिक कृषि उपकरणले उत्पादन वृद्धि, लागत न्यूनीकरण र किसानको आयआर्जन बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले किसानको आर्थिक अवस्था सुधारका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

सम्बन्धित समाचार