काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित सरकारका विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीसँग छलफल गरेका छन्।
गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पनि अवलोकनमा सहभागी हुनुभएको थियो।
अवलोकनका क्रममा भूमि व्यवस्थामन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएपछि भविष्यमा कुनै विवाद नउठ्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सुकुम्बासी समस्या जटिल भएकाले समाधानमा केही समय लाग्ने भए पनि सरकारले दीर्घकालीन र दिगो व्यवस्थापनको दिशामा काम गरिरहेको उहाँको भनाइ थियो।
उहाँले सुकुम्बासीको विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सबै पक्षलाई आग्रह गर्दै वास्तविक समस्याको स्थायी समाधान सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।
गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या, आवश्यकता र सरकारको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापन योजनाबारे जानकारी गराउनुभएको थियो।
यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीलाई सुरक्षित स्थानका रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। सरकार अहिले उनीहरूको स्थायी व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।