प्रतिनिधिसभा आज बस्दै, दुई अन्तर्राष्ट्रिय श्रम महासन्धी अनुमोदनको प्रस्ताव पेश हुने

1.2k Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै दुई अन्तर्राष्ट्रिय श्रम महासन्धी अनुमोदनका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ।

यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर–२९ अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नम्बर–८१) माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि सभामा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार