काठमाडौं । पूर्वशिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सञ्चारगृहअगाडि जथाभावी सवारीसाधन तेर्स्याउने घटना राज्यकै संरक्षणमा भएको आरोप लगाएकी छन्। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको बताएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले राज्यका निकाय मौन बस्दा कानुनभन्दा शक्तिको प्रदर्शन हावी भएको सन्देश जाने बताइन्। उनले ‘पाठ सिकाउने’ शैलीमा गरिने यस्ता गतिविधिले लोकतन्त्र कमजोर बनाउने र नागरिकमा त्रासको वातावरण सिर्जना गर्ने टिप्पणी गरिन्।
श्रेष्ठले सञ्चारमाध्यम र सार्वजनिक संस्थालाई लक्षित गरी हुने यस्ता गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेकी छन्। साथै, प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ।