सदन मन्त्रीको धम्की दिने थलो होइन, सरकारलाई जवाफदेही बनाउने संस्था हो : दुलाल

1.3k Shares

काठमाडौं । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले संसद र जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने भन्दै प्रधानमन्त्रीले तत्काल संसदमा उपस्थित भएर उठेका जिज्ञासाको जवाफ दिनुपर्ने माग गरे।

दुलालले सरकार गठन भएको सय दिन पूरा भइसकेको उल्लेख गर्दै अब सरकारले आफ्नो कामको समीक्षा गर्दै संसदमार्फत जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताए। बहुदलीय लोकतन्त्रमा सरकारमाथि उठ्ने प्रश्नको उत्तर दिनु संवैधानिक दायित्व भएको उनको भनाइ थियो।

सरकारकै तथ्याङ्कअनुसार गत वर्षको तुलनामा महँगी दोब्बर बढेको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष असर गरिब, मजदुर र साना व्यवसायीमाथि परेको बताए। कर्मचारीको तलब बढाइए पनि आम नागरिकको आर्थिक अवस्था सुधार्न र विचौलिया नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप उनले लगाए।

दुलालले मानवअधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको, गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको तथा गम्भीर कानुनी विषयमा दोहोरो मापदण्ड अपनाइएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए। यी विषयमा संसदलाई स्पष्ट जवाफ आवश्यक रहेको उनको भनाइ थियो।

सुकुम्बासी बस्तीमा सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनले पूर्वसूचनाबिनै मानिसहरूलाई होल्डिङ सेन्टरमा लगिएको र त्यहाँ आधारभूत सुविधासमेत अभाव रहेको जानकारी आएको बताए।

सरकारले खर्च कटौती र मन्त्रालय संख्या घटाउने निर्णयको स्वागत गरे पनि स्थायी प्रशासनिक संयन्त्रलाई बेवास्ता गर्दै सल्लाहकारहरूको भीड बढाइएको भन्दै उनले असन्तुष्टि जनाए। साथै सञ्चारमाध्यममाथि दबाब सिर्जना गरिएको, ट्रेड युनियन र विद्यार्थी संगठनका अधिकार कुण्ठित गरिएको तथा नागरिकको आलोचनालाई दण्डित गर्ने प्रवृत्तिले तानाशाही शैलीको संकेत दिएको आरोपसमेत लगाए।

दुलालले संसद सरकारलाई नियन्त्रण, सन्तुलन र जवाफदेही बनाउने सर्वोच्च जनप्रतिनिधि संस्था भएको उल्लेख गर्दै मन्त्रीहरूले संसदको रोष्ट्रम प्रयोग गरेर सांसदलाई धम्क्याउने कार्य लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नभएको बताए। प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जनताका जिज्ञासाको जवाफ दिनु नै लोकतान्त्रिक उत्तरदायित्व हुने उनको निष्कर्ष थियो।

सम्बन्धित समाचार