सरकारको आलोचना गरेकै कारण गोली हान्ने धम्की आएको एमाले सांसद महरको आरोप
1.3k
Shares
काठमाडौं । नेकपा (एमाले) का सांसद ऐन महरले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने तथा गोली हान्ने धम्की आएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक आलोचना गर्दै आएको भए पनि त्यसकै कारण आफू निरन्तर धम्कीको निशानामा परेको दाबी गरे।
उनले आफूले सरकारको निरपेक्ष विरोध नगरेको स्पष्ट पार्दै संसदमा सरकारका कमजोरीबारे बोलेपछि सामाजिक सञ्जालमार्फत हत्या गर्ने धम्की आउने क्रम बढेको बताए।
‘निरन्तर धम्की आएको छ। गोली हान्दिन्छु, मार्दिन्छु भनेर सामाजिक सञ्जालमार्फत धम्की आएको हो। “गोली हानेर मार्दिन्छु” भनेर ‘पराजुली राम’ नामको फेसबुक प्रोफाइलबाट धम्की आएको छ,’ सांसद महरले भने।
उनका अनुसार उक्त धम्की बौद्ध क्षेत्रमा बसोबास गर्ने व्यक्तिको ठेगानासहितको सामाजिक सञ्जाल खाताबाट आएको हो।
सांसद महरले निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी यस्ता धम्की दिनु लोकतान्त्रिक अभ्यासविपरीत भएको उल्लेख गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।