काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत हुने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले राजधानीस्थित सञ्चारगृहहरूको मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध पारिएको घटनाको कडा शब्दमा विरोध गरे। सत्यलाई दबाउने उद्देश्यले गरिएका यस्ता गतिविधि सफल नहुने उनको भनाइ थियो।
नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै परियारले सञ्चारमाध्यमलाई त्रास सिर्जना गर्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको बताए। उनले ‘सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्न खोज्नुजस्तै हो’ भन्दै सत्यलाई कुनै पनि अवरोधले रोक्न नसकिने धारणा राखे।
परियारले निरंकुश शासनकालमा नेपाली पत्रकारिताले भोगेका दमन, सेन्सरशिप र सैनिक हस्तक्षेपको स्मरण गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला पनि नेपाली सञ्चारमाध्यम नझुकेको उल्लेख गरे। उनले त्यतिबेला समाचार कक्षमै सैनिक पुगेर समाचार सेन्सर गर्ने अवस्था रहे पनि पत्रकारिता विचलित नभएको भन्दै अहिले सामान्य अवरोधबाट प्रेस तर्सिने कल्पना गर्न नसकिने बताए।
‘ओखलीमा टाउको हालेपछि मुसलको के डर भनेझैँ, जस्तोसुकै संकटमा पनि निर्भीक भएर उभिएको नेपाली पत्रकारिताको इतिहास कसैले मेट्न सक्दैन,’ उनले भने, ‘हिजो बन्दुकधारीले रोक्न नसकेको पत्रकारितालाई आज सडकमा अवरोध खडा गरेर गलाउँछु भन्ने सोच दिवास्वप्न मात्र हो।’
रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै परियारले सत्ता वा कुनै स्वार्थका लागि सञ्चारमाध्यममाथि दबाब र त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
सञ्चारमाध्यमभित्र सुधार आवश्यक रहेको स्वीकार गर्दै उनले पत्रकारिता स्वतन्त्रसँगै जिम्मेवार पनि हुनुपर्ने बताए। महात्मा गान्धीको भनाइ उद्धृत गर्दै उनले प्रेस ठूलो शक्ति भएकाले त्यसको प्रयोग पनि जिम्मेवारीपूर्वक हुनुपर्ने धारणा व्यक्त गरे।
सचेतक परियारले सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै सबै सञ्चारगृह र पत्रकारले निर्भय, सुरक्षित र निर्वाध रूपमा काम गर्न सक्ने वातावरण तत्काल सुनिश्चित गर्न माग गरे । स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको सुदृढीकरण तथा समृद्धिको महत्वपूर्ण आधार भएको उनले बताए ।