कांग्रेसभित्रको विवाद र आगामी रणनीतिबारे देउवा पक्षको बैठक

1.2k Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल गर्न शुक्रबार बैठक बोलाएको छ ।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्ने भएको हो। बैठकमा काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूको सहभागिता रहने नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनभित्र देखिएका आन्तरिक विषय तथा आगामी दिनमा अपनाइने रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ ।

यस्तै, आगामी साउन ६ गते आयोजना हुने बीपी स्मृति दिवस कार्यक्रमको तयारीबारे पनि बैठकमा छलफल हुनेछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्ने तयारी रहेको उक्त कार्यक्रमको व्यवस्थापन तथा समसामयिक राजनीतिक परिस्थितिसमेत बैठकका प्रमुख एजेन्डा रहने नेता विश्वकर्माले बताएका छन् ।

नेपाली कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, संगठन सञ्चालन र आन्तरिक समन्वयलाई लिएर विभिन्न धारबीच मतभेद देखिएका बेला देउवा समूहको यो बैठकलाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार