पोखरामा शृङ्खलाबद्ध चोरीमा ४ विदेशीसहित ९ जना पक्राउ

1.3k Shares

पोखरा । पोखराका विभिन्न स्थानमा शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्। उनीहरूसँगै चोरीमा सहयोग गरेको आरोपमा पाँच नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार सबै अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानमा गिरोहले मध्यरात र बिहानको सुनसान समय पारेर पोखराका विभिन्न वडामा रहेका घर तथा कोठालाई निशाना बनाई सुनका गरगहना, नगद र अन्य बहुमूल्य सामान चोरी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। असार महिनाभर भएका विभिन्न चोरीका घटनामा यही गिरोहको संलग्नता रहेको आशंका गरिएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका नौ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडी र सुनको एक थान ब्रासलेट बरामद गरेको जनाएको छ। साथै गिरोहका अन्य सम्भावित संलग्न व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार