कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट च्याउ टिप्न जंगल गएका क्रममा सम्पर्कविहीन भएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्।
स्थानीय जंगलमा च्याउ संकलन गर्न गएका उनीहरूसँग लामो समयसम्म सम्पर्क हुन नसकेपछि परिवारका सदस्य र स्थानीयवासी चिन्तित बनेका थिए। घटनाबारे प्रहरीलाई जानकारी गराइएपछि खोजीको तयारी गरिएको थियो।
तर खोजी अभियान तीव्र बनाइँदै गर्दा १४ जना महिला आफैं सकुशल घर फर्किएर परिवारको सम्पर्कमा आएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जंगल क्षेत्रमा मोबाइल नेटवर्क नहुनु र भौगोलिक विकटताका कारण उनीहरूसँग सम्पर्क हुन नसकेको हो। घटनामा कुनै मानवीय वा भौतिक क्षति भएको छैन।
प्रहरीले वर्षायाममा च्याउ टिप्न जंगल जाँदा समूहमा जान, आफ्नो गन्तव्यबारे परिवारलाई जानकारी गराउन तथा सम्भव भएसम्म सञ्चार सम्पर्क हुने व्यवस्था मिलाएर मात्रै जान सर्वसाधारणलाई आग्रह गरेको छ।