बागमती सरकारबाट एमाले बाहिरियो

2.1k Shares

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग सत्ता सहकार्य तथा नयाँ सरकार गठनको तयारी अघि बढेपछि एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्।

एमालेले प्रदेश सरकारबाट बाहिरिने निर्णयसँगै आफ्ना सबै मन्त्रीहरूको राजीनामा प्रदेश प्रमुखसमक्ष बुझाएको जनाएको छ। राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दलको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै तत्काल लागू हुने गरी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ।

राजीनामा पत्रमा उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिन पनि अनुरोध गरिएको छ।

हाल बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ। एमाले सरकारबाट बाहिरिएसँगै प्रदेशको सत्ता समीकरण परिवर्तन हुने संकेत देखिएको छ। एमाले र नेकपाबीच सहकार्यको तयारी भइरहेका बेला अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार