बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन फिर्तासँगै बानियाँ नेतृत्वको सरकार संकटमा

1.2k Shares

मकवानपुर, साउन ६ — नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार एमालेले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष समर्थन फिर्ताको पत्र बुझाउँदै सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरेको हो।

बागमती प्रदेश सरकारमा एमालेका छ जना मन्त्री सहभागी छन्। समर्थन फिर्ताको पत्र बुझाउने क्रममा पाँच मन्त्री प्रदेश प्रमुखको कार्यालय पुगेका थिए भने वन तथा वातावरणमन्त्री किरण थापा मगर काठमाडौंमा रहेकाले उपस्थित हुन नसकेको जनाइएको छ।

एमालेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनबाट काठमाडौं फर्किएलगत्तै सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। राजीनामापछि एमाले औपचारिक रूपमा सरकारबाट बाहिरिनेछ।

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको छ। एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्ने सम्भावना बढेको छ। अब मुख्यमन्त्री बानियाँले नयाँ सत्ता समीकरण खोज्नुपर्ने वा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।

एमालेको निर्णयसँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरि एकपटक परिवर्तनको मोडमा पुगेको छ। अब प्रदेश सरकारको भविष्य नयाँ गठबन्धन, विश्वासको मत वा वैकल्पिक सरकार गठनको प्रक्रियाले तय गर्नेछ।uml.jpg

सम्बन्धित समाचार