बाजुरामा बाँदरको आतंक, पाक्नै लागेको स्याउ सखाप हुँदा किसान चिन्तित

2.7k Shares

बाजुरा । बाजुराका स्याउ किसान यतिबेला प्राकृतिक विपत्तिभन्दा पनि बाँदरको आतंकबाट बढी चिन्तित बनेका छन्। साउनको पहिलो सातादेखि बाँदरले स्याउ खाने मात्र होइन, रुखबाट झारेर नष्ट गर्न थालेपछि किसानको वर्षभरिको मेहनत जोखिममा परेको हो।

बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा व्यावसायिक रूपमा स्याउ खेती गर्ने किसानहरू अहिले बगैंचा जोगाउन दिनरात खटिन बाध्य भएका छन्। आम्दानीको राम्रो सम्भावना देखिएपछि पछिल्ला वर्षहरूमा किसान अन्नबालीभन्दा स्याउ खेतीतर्फ आकर्षित भएका थिए।

पहिले सडकको अभावका कारण उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भए पनि अहिले गाउँ–गाउँमा सडक पुगेपछि स्याउ बिक्री गर्न सहज भएको छ। यही कारण किसानले स्याउ खेती विस्तार गरेका थिए। तर यस वर्ष भने बजार लैजाने तयारी गर्नुअघि नै बाँदरले बगैंचामा प्रवेश गरेर स्याउ नष्ट गर्न थालेपछि किसान निराश बनेका छन्।

जगन्नाथ गाउँपालिका–१, ढाडाकोटका मनोज कामीका अनुसार कालाजुर, नाउली, कालापानी र डोप्का क्षेत्रमा तीनदेखि चार हजारसम्म स्याउका बोट छन्। २०७१/७२ सालदेखि विष्ट, विश्वकर्मा, गिरी, रोकाया, बोगटी, खत्री र उपाध्यायलगायत चारदेखि पाँच सय परिवारले व्यावसायिक स्याउ खेती सुरु गरेका थिए।

गत वर्षदेखि राम्रो उत्पादन हुन थालेपछि किसानले बगैंचाबाटै एक जनाले करिब ३५ हजार रुपैयाँभन्दा बढीको स्याउ बिक्री गरेका थिए। तर यस वर्ष ठेकेदार आउनुअघि नै बाँदरले अधिकांश स्याउ नष्ट गरिदिएको कामीले गुनासो गर्नुभयो।

स्थानीय किसान केपी सार्कीले अन्नबालीभन्दा स्याउ खेतीबाट राम्रो आम्दानी हुने आशामा खेती सुरु गरे पनि अहिले बाँदरले बगैंचा सखाप पारेपछि भविष्यप्रति अन्योल बढेको बताउनुभयो।

बाजुरामा पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने गरे पनि अहिले किसानले गाला, फुजीलगायत उन्नत जातका स्याउसमेत उत्पादन गर्दै आएका छन्। जिल्लामा करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार गत वर्ष जिल्लामा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जसको ठूलो हिस्सा देशका विभिन्न जिल्लामा बिक्री गरिएको थियो।

उहाँका अनुसार रोगको नियन्त्रण गर्न सकिए पनि बाँदरको समस्या नियन्त्रण गर्ने प्रभावकारी उपाय हालसम्म उपलब्ध छैन।

स्थानीय तहका अनुसार किसानको सबैभन्दा ठूलो चुनौती बाँदरबाट हुने क्षति हो। बाँदर नियन्त्रणका लागि हालसम्म कुनै ठोस कार्ययोजना तयार नभएको जनाइएको छ।

यता डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुभाष ऐडीले बाँदरबाट भएको क्षतिको यकिन गरी सिफारिस आए राहत उपलब्ध गराउन सकिने भए पनि बाँदर नियन्त्रणका लागि तत्काल प्रभावकारी उपाय नरहेको बताउनुभयो।

सम्बन्धित समाचार