दोलखा । तामाकोशी नदीमा आएको बाढीले दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सडक कटान गरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत मन्थली–चरिकोट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बुधबार मध्यराति आएको बाढीले सडक बगाएपछि तराईबाट दोलखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो। बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडक अवरुद्ध हुँदा दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने र सिन्धुली–रामेछाप हुँदै दोलखा आउने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाका अनुसार बाढीले सडक भत्काएपछि यातायात सेवा ठप्प भएको छ। सडक सञ्चालनमा ल्याउन स्थानीय तह, सडक विभाग, खिम्ती जलविद्युत् आयोजना, वडा प्रतिनिधि तथा प्रहरीबीच समन्वय भइरहेको उनले बताए।
प्रशासनले वैकल्पिक मार्ग खुलाएर यातायात सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ। यद्यपि, सडक पुनः सञ्चालन हुने समय भने अझै निश्चित भइसकेको छैन।