सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र संसदीय दलदेखि प्रदेश पार्टी कमिटीसम्म एउटै धार देखिएको छ। मुख्यमन्त्री कँडेलको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पार्टी पुगेपछि प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना बलियो बनेको छ।
नेकपाका प्रदेशसभा सदस्यहरू मात्रै होइन, प्रदेश पार्टी कमिटीसमेत कँडेलविरुद्ध उभिएको देखिएको छ। पार्टीको प्रदेश कमिटी अध्यक्ष विमला केसीले नैतिक आधारमा समेत नेकपाले एमालेसँग सहकार्य गर्न नसक्ने स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।
उनले विगतका राजनीतिक घटनाक्रम र एमालेको भूमिकालाई उल्लेख गर्दै अहिलेको अवस्थामा एमालेसँग सरकारमा सहकार्य गर्नु पार्टीका सिद्धान्त र राजनीतिक नैतिकतासँग मेल नखाने बताइन्। उनका अनुसार कर्णालीमा नयाँ राजनीतिक समीकरण निर्माण गरेर अघि बढ्नु नै उपयुक्त विकल्प हो।
यसअघि नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ।
नेकपाको संसदीय दल र प्रदेश पार्टी कमिटी एउटै अडानमा उभिएपछि मुख्यमन्त्री कँडेलमाथिको राजनीतिक दबाब थप बढेको छ। अब प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफल र मतदानले कर्णाली सरकारको भविष्य तय गर्नेछ।