दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको केन्द्र डाँडापराजुललाई पक्की सडक सञ्जालसँग जोड्ने बहुप्रतीक्षित योजना अन्ततः पूरा भएको छ। सडक ट्र्याक खुलेको करिब १७ वर्षपछि कालोपत्रे सम्पन्न भएपछि स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको हिलो र धुलोको समस्या अन्त्य हुने भएको छ।
विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित संघीय सरकारको स्थानीय सडक सुधार आयोजना अन्तर्गत कर्णाली प्रदेशको प्रादेशिक तथा स्थानीय सडक सुधार योजनामार्फत सडक कालोपत्रे गरिएको हो। आयोजना पूर्वाधार विकास कार्यालय दैलेखको समन्वयमा सञ्चालन भएको थियो।
खुला प्रतिस्पर्धामार्फत एमएसएसी–केकेबीएनएस जेभी, कालिमाटीले निर्माणको जिम्मा पाएको थियो। कम्पनीले २८ करोड १२ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ लागतमा सडक निर्माण सम्पन्न गरेको जनाएको छ।
आयोजनाको सम्झौता २०८१ चैत २१ गते भएको थियो भने त्यसको २१ दिनपछि तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको थियो।
सम्झौताअनुसार काम २०८३ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब एक वर्षअघि नै सडकको मुख्य निर्माण कार्य पूरा गरेको हो।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले अपेक्षाभन्दा छिटो र गुणस्तरीय रूपमा निर्माण सम्पन्न भएको बताए। उनका अनुसार निर्माणको गुणस्तरमा सुरुदेखि नै विशेष ध्यान दिइएकाले सडक दीर्घकालसम्म टिकाउ हुने विश्वास गरिएको छ।
कालोपत्रेको मुख्य काम सम्पन्न भए पनि सडक सुरक्षासम्बन्धी केही काम अझै बाँकी छन्। निर्माण कम्पनीका अनुसार सेफ्टी पिलर, रङरोगन, कोसेढुङ्गा तथा ट्राफिक साइनबोर्ड जडान गर्ने कार्य सम्पन्न हुन बाँकी छ।
सम्झौताअनुसार सडक निर्माण सम्पन्न भएपछि दुई वर्षसम्म निर्माणसम्बन्धी दायित्व तथा त्यसपछिका पाँच वर्ष मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै रहने व्यवस्था गरिएको छ।
वर्षायाममा हिलो र सुख्खायाममा धुलोका कारण सास्ती खेप्दै आएका स्थानीयका लागि कालोपत्रे सडक ठूलो राहत बनेको छ। अब आवागमन सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउन तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।