इजरायली राजदूत बास दुईदिने भ्रमणमा मकवानपुर, कृषि र प्रविधि साझेदारीमा केन्द्रित

5.2k Shares

मकवानपुर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबारदेखि मकवानपुरको दुईदिने भ्रमण गर्ने भएका छन्। कृषि, प्रविधि तथा संस्थागत सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने उद्देश्यले हुन लागेको भ्रमणमा प्राविधिक शिक्षा, औद्योगिक विकास र पर्यटनका विविध पक्षको अध्ययन गरिनेछ।

बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीका अनुसार भ्रमणका क्रममा प्रदेशमा सञ्चालित प्राविधिक शिक्षाका कार्यक्रमको स्थलगत निरीक्षण, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन र औद्योगिक सम्भावनाबारे अध्ययन गरिनेछ।

भ्रमणको पहिलो दिन राजदूत बासले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सचिवहरूसँग शिष्टाचार भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन गर्नेछन्। साथै हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय प्राविधिक शिक्षालयको निरीक्षण गर्नुका साथै ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणको दोस्रो दिन शनिबार राजदूत बासले मार्खुस्थित मानव निर्मित कुलेखानी जलाशय तथा चित्लाङस्थित भेडा फार्मको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।

यस भ्रमणलाई नेपाल–इजरायलबीच कृषि, प्राविधिक शिक्षा, औद्योगिक विकास तथा संस्थागत सहकार्य विस्तार गर्ने सम्भावनाको खोजीका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार