गोरखामा पहिरोले १० दिनदेखि सडक अवरुद्ध, स्थानीयको जनजीवन कष्टकर

1.4k Shares

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठूलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि सडकको करिब २० मिटर भाग भासिँदा सवारीसाधन सञ्चालन ठप्प बनेको हो।

सडक बन्द भएपछि बारपाक सुलीकोट गाउँपालिकाका स्थानीयवासी, विद्यार्थी, बिरामी तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा गम्भीर समस्या उत्पन्न भएको छ। विशेषगरी ताकु, देउराली र आसपासका बस्तीका नागरिक घण्टौँ पैदल हिँडेर आवतजावत गर्न बाध्य भएका छन्।

स्थानीय बाबुराम नेपालीका अनुसार सडक अवरुद्ध हुँदा दैनिक जनजीवन निकै प्रभावित बनेको छ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले पहिरोले सडकको आधार नै बगाएकाले सामान्य मर्मतबाट सडक सञ्चालनमा ल्याउन सम्भव नभएको बताए। उनले सडकको अवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जानकारी गराइसकिएको र आवश्यक सहयोगको पहल भइरहेको जानकारी दिए।

स्थानीयवासीले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखामार्फत बजेटको व्यवस्था गरी सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।

वर्षायाममा यस सडकखण्डमा पटक–पटक पहिरो जाने समस्या दोहोरिने भए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी काम हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सडक बन्द हुँदा खाद्यान्न, निर्माण सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित बनेको छ।

स्थानीयले आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरेर तत्काल मर्मत कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। यता, मौसम अझै प्रतिकूल रहेकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै गाउँपालिकाले उक्त क्षेत्रबाट पैदल यात्रा नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।

गाउँपालिकाले सडकको प्राविधिक अध्ययन गरी जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण तथा दीर्घकालीन संरक्षणका लागि आवश्यक काम तत्काल अघि बढाउन सम्बन्धित निकायलाई पुनः आग्रह गरेको जनाएको छ।

सम्बन्धित समाचार