जीर्ण ट्रस्ट पुलले बढायो कालीगण्डकी कोरिडोरमा यात्रा जोखिम

1.1k Shares

बागलुङ । कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ खण्डमा १२ वर्षअघि निर्माण गरिएका तीन वटा ट्रस्ट पुल जीर्ण बनेपछि यात्रु र सवारीसाधन जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्।

कोरिडोरको ट्र्याक खोल्ने क्रममा अस्थायी रूपमा निर्माण गरिएका जैमिनी नगरपालिका–१ र ५ जोड्ने ठेउलेखोला पुल, जैमिनी–७ स्थित लौँवाखोला पुल तथा बागलुङ–गुल्मी जोड्ने पालुङखोला पुल अझैसम्म विस्थापित हुन सकेका छैनन्। सडकको अधिकांश भाग कालोपत्रे भइसके पनि ती पुलहरू खिया लागेर जीर्ण अवस्थामा पुगेका छन्।

स्थानीयका अनुसार खाद्यान्न बोकेका भारी सवारीसाधन गुड्दा पुल हल्लिने भएकाले यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ। जैमिनी–७ का सीताराम रसाइलीले खियाले मक्किएका पुलका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै सुरक्षित यात्राका लागि तत्काल मर्मत वा नयाँ पुल निर्माण गर्नुपर्ने बताए।

भारतलाई चीनसँग जोड्ने छोटो मार्गका रूपमा रहेको कालीगण्डकी कोरिडोर पछिल्लो समय भारतीय पर्यटकका लागि मुक्तिनाथ पुग्ने प्रमुख सडक बनेको छ। सवारी चाप बढ्दै जाँदा पुराना ट्रस्ट पुल विस्थापित गरी पक्की पुल निर्माण गर्नुपर्ने आवश्यकता झन् बढेको स्थानीयको भनाइ छ।

कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सिनियर डिभिजन इन्जिनियर शिवलाल दाहालका अनुसार बागलुङ खण्डका तीनवटै ट्रस्ट पुलको स्थानमा पक्की पुल निर्माणका लागि लागत अनुमान तयार गरी राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको छ। स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

यसैबीच, बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं. १० भकुन्डेको गलुवालाई जोड्ने काठेखोलाको पक्की पुल पनि जोखिममा रहेको छ। २०६६ सालमा निर्माण भएको उक्त पुल चार वर्षअघि आएको बाढीले क्षति पुर्‍याएपछि मर्मत गरिए पनि पूर्ण रूपमा सुरक्षित नभएको प्राविधिकहरूले बताएका छन्।

कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ खण्डमा कालाखोला, धापाखोला र अर्जेवामा भने पक्की पुल निर्माण भइसकेका छन्। बागलुङको ४४ किलोमिटर सडक पर्ने कोरिडोरमा मालढुङ्गा–बलेवा खण्डको स्तरोन्नति तथा कालोपत्रे गर्ने काम हाल जारी रहेको छ।

सम्बन्धित समाचार