जनकपुरमा गुठी जग्गा संरक्षण अभियान, अतिक्रमित भूमि खाली गराउन सात दिने सूचना

1.6k Shares

जनकपुरधाम । गुठी तथा गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी र संरक्षण अभियान सुरु गरिएको छ। सङ्घीय सरकारले गुठी जग्गा संरक्षणमा चासो बढाएपछि गुठी संस्थानले लगत संकलनसँगै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।

गुठी संस्थानले मठ–मन्दिर, पोखरी तथा अन्य गुठी स्वामित्वका जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेर बसेकाहरूलाई सात दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।

संस्थानका प्रशासन प्रमुख धुव्र घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी सम्पत्तिको संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको जनाएको छ।

गुठी संस्थानका अनुसार गुठी जग्गाको स्वामित्व सम्बन्धित गुठी वा गुठी संस्थानमै रहने व्यवस्था छ। साथै, सर्वोच्च अदालतले विसं २०६४ माघ १० गतेको फैसलामार्फत गुठी जग्गालाई रैतानीमा रूपान्तरण गर्ने प्रक्रिया संविधानविपरीत ठहर गर्दै रोक लगाएको थियो। अदालतले गुठी जग्गा कमाउँदै आएको आधारमा स्वतः मोहियानी हक प्राप्त नहुने पनि स्पष्ट गरेको छ।

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाममा संस्थानका ४९ वटा पोखरी रहेका छन्। तीमध्ये सात वटा पोखरीको लगत संकलन अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी पूर्ण रूपमा लोप भइसकेका छन्।

उनका अनुसार पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान तथा कलेज निर्माण गरिएको पाइएको छ। गुठी संस्थानसँग अद्यावधिक अभिलेख नहुँदा अतिक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा खुल्न सकेको छैन।

संस्थानले जनकपुरधाममा करिब २२ देखि २५ बिघा गुठी जग्गा अतिक्रमणमा परेको अनुमान गरेको छ। रत्न सागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमणमा परेको प्रारम्भिक अनुमान रहेको प्रमुख झाले जानकारी दिएका छन्।

सम्बन्धित समाचार