छ वर्षमा ४० प्रतिशत मात्रै प्रगति, सिन्धुली रिङरोड निर्माणले बल्ल समात्यो गति
1.7k
Shares
सिन्धुलीमाढी । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा निर्माणाधीन रिङरोडको काम लामो समयको ढिलाइपछि अहिले गति लिन थालेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ८.३ किलोमिटर लामो रिङरोडको निर्माण छ वर्ष बितिसक्दा ४० प्रतिशत मात्रै पूरा भएको भए पनि पछिल्ला महिनामा निर्माण कम्पनीले जनशक्ति बढाएर कामलाई तीव्रता दिएको हो।
डिभिजन सडक कार्यालय, खाल्टे सिन्धुलीका इन्जिनियर गजेन्द्र राउतका अनुसार वर्षायामबाहेकको ६–७ महिनाभित्र बाँकी काम सक्ने लक्ष्यका साथ निर्माण कम्पनीले अहिले दुवैतर्फबाट एकसाथ काम गरिरहेको छ। ‘पहिले नै यही गतिमा काम भएको भए आयोजना धेरैअघि सकिन्थ्यो,’ राउतले भने।
२०७६ फागुन ११ गते कालिका–बेदान्सी–विकास जेभीले करिब १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी माझिटार–पानीट्याङ्की–नुनथला–मल्लागाउँ हुँदै हिरापानीसम्मको ८.३ किलोमिटर रिङरोड निर्माण सुरु गरेको थियो। सम्झौताअनुसार दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमै काम पूरा गर्न सकेन।
निर्माणमा ढिलाइ भएपछि दुई पटक म्याद थप गरिएको थियो। पछिल्लो म्याद २०८३ वैशाख ११ गते सकिएको छ। त्यसयता भने म्याद थप गरिएको छैन। इन्जिनियर राउतका अनुसार सार्वजनिक खरिद ऐन संशोधन भएपछि नयाँ व्यवस्थाअनुसार निर्माण कम्पनीले ३० दिनभित्र म्याद थपका लागि निवेदन दिनुपर्नेछ। त्यसपछि मात्रै थप म्यादबारे निर्णय हुनेछ।
काममा चरम ढिलाइ गरेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनीको एक करोड ६५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टीसमेत जफत गरिसकेको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि प्रगति नदेखिएपछि गत पुस ६ गते कार्यालयले ठेक्का किन नतोड्ने भन्दै सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको थियो।
कार्यालयका अनुसार आयोजनाको प्रारम्भिक लागत अनुमान करिब ४५ करोड रुपैयाँ थियो। तर प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत कालिका–बेदान्सी–विकास जेभीले करिब १८ करोड रुपैयाँमै ठेक्का पाएको थियो। दुई लेनको रिङरोड ७.५ मिटर चौडा हुनेछ भने ५.५ मिटर भाग कालोपत्रे गरिनेछ।
निर्माण कम्पनीका इन्जिनियर बुलन यादवका अनुसार अहिले विभिन्न स्थानमा नाला र रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। ती संरचनाको अधिकांश काम सकिन लागेको र बाँकी काम पनि सकेर आयोजना छिट्टै पूरा गर्ने गरी दुवैतर्फबाट निर्माण अघि बढाइएको उनले बताए।
उनका अनुसार आयोजनाको भौतिक प्रगति ४० प्रतिशतभन्दा माथि पुगेको छ भने आर्थिक प्रगति २४ प्रतिशत रहेको छ। लामो समयसम्म अलपत्रजस्तै बनेको आयोजना अहिले गति लिन थालेपछि स्थानीयवासी पनि आशावादी बनेका छन्। माझिटारबाट सुरु हुने रिङरोड हिरापानीमा पुगेर बीपी राजमार्गसँग जोडिनेछ। यसले कमलामाई नगरपालिका–४, ६ र ७ का भित्री बस्तीलाई प्रत्यक्ष रूपमा सडक सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ।
यद्यपि, केही स्थानमा अझै जग्गा विवाद कायम रहेकाले निर्माण कार्यमा चुनौती रहेको स्थानीयको भनाइ छ। कमलामाई नगरपालिका–४ का बलराम अधिकारीले नगरपालिकाले बाँकी जग्गा विवाद छिट्टै समाधान गरेर रिङरोड निर्माणमा सहजीकरण गर्नुपर्ने बताए।