आन्तरिक र प्राविधिक कारण देखाउँदै गगन थापाले रोके भारत भ्रमण, कांग्रेसभित्रको विवाद पनि चर्चामा

2.4k Shares

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार भारत जाने तयारीमा रहेका थापाले भ्रमण आइतबारका लागि सारे पनि अन्ततः भारत नजाने निर्णय गरेका हुन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गरेका छन्। उनले भ्रमण स्थगित हुनुको कारणबारे स्पष्ट जानकारी नदिँदै ‘नितान्त आन्तरिक र प्राविधिक कारणले गर्दा सभापतिज्यूले भारत भ्रमण स्थगित गर्नुभएको हो’ भनेका छन्।

प्रवक्ता चालिसेका अनुसार थापाको भारत भ्रमणको नयाँ मिति भने तय भएको छैन। भ्रमण स्थगित गर्ने निर्णयबारे कांग्रेसले औपचारिक रूपमा विस्तृत कारण सार्वजनिक गरेको छैन।

थापालाई भारतको नयाँदिल्लीमा आयोजना गरिएको नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। उनी कार्यक्रममा सहभागी हुने तयारीमा रहे पनि अन्तिम समयमा भ्रमण रद्द भएको हो।

यद्यपि कांग्रेस स्रोतका अनुसार भ्रमण स्थगित हुनुमा पार्टीभित्र देखिएको आन्तरिक विवाद पनि एक कारण हुन सक्ने बताइएको छ। विदेश महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको संस्थापन र इतर पक्षबीच मतभेद बढ्दै गएको छ।

पार्टीभित्रको विवादकै बीच सभापति थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय कांग्रेसभित्रको शक्ति सन्तुलन र आन्तरिक गतिविधिले राजनीतिक वृत्तमा चर्चा पाउँदै आएको छ।

तर सभापति थापाको भारत भ्रमण स्थगित हुनुको मुख्य कारणबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार