नागढुंगा सुरुङमार्गको सुरुवात झलनाथ सरकारबाट : मन्त्री लम्साल

1.4k Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवधारणा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट अघि बढाइएको बताएका छन्।

सोमबार देशकै पहिलो आधुनिक सडक सुरुङमार्गको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले नागढुंगा सुरुङमार्ग कुनै एक सरकार वा एक व्यक्तिको मात्र उपलब्धि नभई विभिन्न समयमा भएका नीतिगत निर्णय र निरन्तर प्रयासको परिणाम भएको बताए। उनले झलनाथ खनाल नेतृत्वको सरकारले प्रारम्भिक चरणमै सुरुङमार्गको अवधारणालाई अघि बढाएको, त्यसपछि विभिन्न सरकारले अध्ययन, बजेट व्यवस्थापन, शिलान्यास, निर्माण र अन्ततः सञ्चालनसम्म पुर्‍याएको उल्लेख गरे।

उनका अनुसार नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन झलनाथ खनाल र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको कार्यकालमा अघि बढाइएको थियो। त्यसपछि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए भने निर्माण सम्पन्न भएपछि औपचारिक उद्घाटन गरिएको हो।

मन्त्री लम्सालले शिलान्यासका बेला स्थापना गरिएको शिलालेख हराएको विषयमा पनि टिप्पणी गर्दै त्यसलाई खोजी गरी पुनःस्थापना गरिने जानकारी दिए। उनले परियोजनामा योगदान दिएका सबै सरकार, नेतृत्व र प्राविधिक जनशक्तिको योगदानको सम्मान हुनुपर्ने धारणा व्यक्त गरे।

उनले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुआत भएको उल्लेख गर्दै आगामी दिनमा देशका अन्य स्थानमा पनि यस्ता आधुनिक सुरुङमार्ग निर्माण गरिने बताए। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भएको यो सुरुङमार्ग देशकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा सञ्चालनमा आएको छ।

सम्बन्धित समाचार