सुनसरीको देवानगञ्जबाट कर्फ्यु हटाइयो, अवस्था निगरानीमै
1.8k
Shares
काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार बिहान ६ः१५ बजेदेखि कर्फ्यु आदेश हटाइएको जनाएको हो।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु मंगलबार बिहानबाट हटाउने निर्णय गरेको जनाएको छ।
देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु जारी गरिएको थियो। कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार हालको सुरक्षा अवस्थाको समीक्षा गर्दै मंगलबार बिहान ६ः१५ बजेदेखि कर्फ्यु हटाइएको हो।
यद्यपि जिल्ला प्रशासन कार्यालयले क्षेत्रको सुरक्षा अवस्थामाथि निरन्तर निगरानी भइरहेको जनाएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।