काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएपछि विभिन्न दलका शीर्ष नेताहरू श्रद्धाञ्जली अर्पण गर्न पुगे। तर कांग्रेसकै संस्थापनइतर पक्षका अधिकांश प्रभावशाली नेताहरू भने केन्द्रीय कार्यालयमा अनुपस्थित रहेपछि पार्टीभित्रको आन्तरिक मतभेद फेरि चर्चाको विषय बनेको छ।
कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा कार्यकर्ताहरू सानेपामा उपस्थित थिए।
यद्यपि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायत संस्थापनइतर पक्षका नेताहरू भने सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली दिन नपुगेको भन्दै पार्टीभित्रै प्रश्न उठेको छ।
एक केन्द्रीय सदस्यका अनुसार अन्य राजनीतिक दलका नेताहरू समेत श्रद्धाञ्जली दिन सानेपा पुगे पनि आफ्नै पार्टीका केही प्रमुख नेताहरूको अनुपस्थिति अस्वाभाविक देखिएको हो। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सानेपामै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
ती केन्द्रीय सदस्यले भने, "कतिपय नेताहरूले अस्पतालबाट शव निवासमा लगिएपछि त्यहीँ पुगेर श्रद्धाञ्जली दिनुभयो र त्यसका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभयो। तर पार्टीको केन्द्रीय कार्यालयमा आउन किन आवश्यक ठान्नुभएन भन्ने प्रश्न उठेको छ।"
निवर्तमान प्रवक्ता प्रकाशशरण महतले भने नेता श्रेष्ठको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको तस्बिर सार्वजनिक गरेका छन्। उक्त तस्बिरमा शशांक कोइराला, एनपी साउद, दीपक खड्कालगायत नेताहरू पनि देखिएका छन्।
यस्तै, नेता मीनबहादुर विश्वकर्माले आफूहरू पशुपति आर्यघाटतर्फ गइरहेको जानकारी दिँदै केही नेताहरू बिहानै श्रेष्ठको निवासमा पुगेको र केही नेताहरू आर्यघाटमै श्रद्धाञ्जली दिन जाने भएकाले पार्टी कार्यालय नगएको हुन सक्ने बताए।
यस घटनालाई कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक राजनीतिक मतभेदसँग जोडेर पनि हेरिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच दूरी बढेको छ। तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले उक्त विशेष महाधिवेशनको विरोध गरेको थियो। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि देउवा पक्ष पुनरावलोकनका लागि फेरि अदालत पुगेको छ।
यही पृष्ठभूमिमा वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रतिको श्रद्धाञ्जली कार्यक्रममा समेत पार्टीभित्रको गुटगत दूरी प्रस्ट देखिएको भन्दै कांग्रेस वृत्तमा व्यापक चर्चा भइरहेको छ।