काठमाडौँ । आज साउन १५ अर्थात् नेपाली समाजमा परम्परागत रूपमा खिर खाने दिन। वर्षौंदेखि चलिआएको मौलिक संस्कृतिअनुसार आज घरघरमा खिर पकाएर परिवार, इष्टमित्र र छोरीचेलीलाई खुवाउने तथा देवतामा चढाएर खाने परम्परा निर्वाह गरिँदै छ।
नेपाली समाजमा १५ असारमा दही–चिउरा खाने र १५ साउनमा खिर खाने चलन प्राचीनकालदेखि रहिआएको मानिन्छ। वर्षायाममा साउने झरीका बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका साथ दूध, चामल, चिनी र गरमसलालगायतका सामग्री मिसाएर खिर बनाउने प्रचलन बसेको हो।
संस्कृतमा ‘पायस’ भनिने खिरलाई सात्विक आहारमध्ये उत्कृष्ट मानिन्छ। वैदिक परम्परामा पितृकार्य, श्राद्ध तथा देवपूजामा खिरको विशेष महत्व रहेको उल्लेख पाइन्छ। आज पनि श्राद्धलगायत धार्मिक अनुष्ठानमा गाईको दूधबाट बनाइएको पायस अनिवार्य रूपमा प्रयोग गर्ने चलन कायम छ।
साउन महिनालाई भगवान् शिवको महिना मानिने भएकाले शिवलाई दूध तथा दूधबाट बनेका परिकार अर्पण गर्ने धार्मिक परम्परा पनि छ। यही कारण साउनको मध्यतिर खिर खाने चलन विकसित भएको हुनसक्ने जानकारहरूको भनाइ छ, यद्यपि यसको स्पष्ट शास्त्रीय आधार भने भेटिँदैन।
ग्रामीण क्षेत्रमा साउनसम्म आइपुग्दा रोपाइँलगायत खेतीपातीका मुख्य काम सकिने, हरियाली बढेकाले गाईभैँसीले पर्याप्त दूध दिने भएकाले दूधको सदुपयोग गर्न इष्टमित्र र चेलीबेटीलाई बोलाएर खिर खुवाउने चलन बसेको विश्वास गरिन्छ।
खिर चामल मात्र नभई सावदाना, सेवई, मकै, गाजरलगायत विभिन्न सामग्रीबाट पनि बनाइन्छ। विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर खाने चलन पनि धेरै ठाउँमा प्रचलित छ। धार्मिक विश्वासअनुसार खिर पहिले देवतामा चढाएर मात्र खाने गरिन्छ।
नेपाली बृहत् शब्दकोशले खिरलाई दूधमा चामल, चिनी, मसला आदि मिसाएर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् ‘पायस’का रूपमा परिभाषित गरेको छ। नेपाली समाजमा १५ असारमा दही–चिउरा, १५ साउनमा खिर, १५ भदौमा पोलेको मकै, १५ पुसमा घिउखट्टे र १५ माघमा मालपुवा खाने मौलिक परम्परा अहिले पनि कायम छ।
यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर दिवस’ का रूपमा मनाउँदै आएको छ। यस वर्ष देशभर आठौँ खिर दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। बोर्डका अनुसार प्रशोधित दूधमा करिब ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन रहने भएकाले यो पोषणयुक्त खाद्य पदार्थ मानिन्छ।