काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ललितपुर महानगरपालिका–२३, धापाखेल क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार भण्डारीलाई स्मार्ट टेलिकम (स्मार्ट सेल) को सम्पत्ति व्यवस्थापन तथा बिक्री प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि सरकारको नियन्त्रणमा आएको सम्पत्ति व्यवस्थापन र बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक क्षति पुगेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। सोही विषयमा निर्णय प्रक्रिया र संलग्न पक्षहरूको भूमिकाबारे सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ।
स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने नवीकरण दस्तुर र रोयल्टी नतिरेपछि यसको लाइसेन्स खारेज गरिएको थियो। त्यसपछि कम्पनीका पूर्वाधार तथा सम्पत्ति सरकारको नियन्त्रणमा आएपछि त्यसको व्यवस्थापन र लिलामी प्रक्रियामा अनियमितता भएको आरोप उठ्दै आएको थियो।