पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मनदेवी क्षेत्री (४२), इन्द्रा लामा (४१), टिकामाया तामाङ (४५) र मिनकुमारी गुरुङ (४०) रहेका छन्। उनीहरू सबै पोखरा–१८ निवासी हुन्।
प्रहरीले उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभनमा पारेर अनैतिक कार्यमा संलग्न गराइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो।
कारबाहीका क्रममा प्रहरीले एक बालिकाको उद्धार गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।