सरकारमा जाने–नजाने विवादले राप्रपामा चर्कियो आन्तरिक द्वन्द्व

1.7k Shares

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सहकार्यमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र सरकारमा सहभागी हुने विषयलाई लिएर विवाद चर्किएको छ।

एमाले र नेकपाले केन्द्रस्तरमै प्रदेश सरकारहरू सहकार्यमा सञ्चालन गर्ने समझदारी गरेपछि बागमतीमा पनि नयाँ सत्ता समीकरणको गृहकार्य अघि बढेको छ। तर, दुई दलको मात्रै बहुमत नपुग्ने भएकाले सरकार गठनका लागि राप्रपाको समर्थन निर्णायक बनेको छ।

यही विषयलाई लिएर राप्रपाका सांसदहरूबीच सरकारमा जाने वा विपक्षमै बस्ने भन्ने विषयमा मतभेद देखिएको स्रोतले जनाएको छ। विवादले संसदीय दलको नेतृत्व परिवर्तनसम्मको अवस्था सिर्जना गरेको बताइएको छ।

राप्रपा स्रोतका अनुसार संसदीय दलका नेता उद्धव थापा र सांसद राजु विष्ट सरकारमा सहभागी हुनुपर्ने पक्षमा देखिएका छन्। उनीहरूले एमाले र नेकपालाई आवश्यक बहुमत जुटाउन सकारात्मक संकेत दिएको दाबी पनि गरिएको छ।

स्रोतका अनुसार थापा र विष्टले गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी सरकार गठनबारे छलफल गरेका थिए। उक्त भेटको जानकारी बाहिरिएपछि राप्रपाभित्र असन्तुष्टि झन् बढेको बताइन्छ।

राप्रपाको केन्द्रीय नीति भने एमाले–नेकपा नेतृत्वको प्रदेश सरकारमा सहभागी नहुने रहेको छ। यही कारण अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू संसदीय दलको नेतृत्वको गतिविधिप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ।

पार्टीभित्र थापालाई संसदीय दलको नेताबाट हटाउने तयारीसमेत भइरहेको जनाइएको छ। यदि नेतृत्व परिवर्तन भए राप्रपाका महामन्त्री भुवन पाठक संसदीय दलको नेता बन्न सक्ने चर्चा छ। पाठक सभामुख पदबाट राजीनामा दिएपछि सांसदका रूपमा रहेका छन्।

बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद छन्। एमाले–नेकपा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत पुग्न दुई सांसद अपुग रहेकाले राप्रपाको भूमिका निर्णायक बनेको हो। प्रदेशसभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टी (हानेपा) ले समर्थन गरे पनि नयाँ सरकार गठन सम्भव हुने अवस्था छ।

यसैबीच, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २० साउनमा बस्दै छ। बैठकले प्रदेश सरकारमा सहभागी नहुने पार्टीको आधिकारिक निर्णय दोहोर्‍याउने र संसदीय दलको नेतृत्वबारे पनि निर्णय लिन सक्ने स्रोतको दाबी छ।

यता, संसदीय दलका नेता उद्धव थापाले भने आफू सत्ता केन्द्रित राजनीतिमा नरहेको दाबी गरेका छन्।

‘पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको छैन। त्यसकारण हामी हतार गरेर अघि बढ्ने पक्षमा छैनौँ। तर, राजनीतिक निकास भने दिनुपर्छ,’ उनले भने।

एमाले र नेकपाका तर्फबाट सरकार गठनका लागि ‘तयार रहनुहोस्’ भन्ने सन्देश आइरहेको स्वीकार गर्दै थापाले पार्टीको औपचारिक निर्णय नआएसम्म कुनै दौडधुप नगर्ने स्पष्ट पारे।

सम्बन्धित समाचार