नेपालमा फाइभजीको व्यावसायिक सेवा सुरु गरिने : सञ्चारमन्त्री
799
Shares
काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्र नेपालमा व्यावसायिक रूपमा फाइभजी (5G) इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने र सोही क्रममा फाइभजी सेवाको व्यावसायिक सुरुवात गरिने जानकारी दिएका हुन्।
उनका अनुसार सरकारले देशभर उच्च गुणस्तरको फोरजी (4G) सेवा सुनिश्चित गर्दै नयाँ पुस्ताको फाइभजी सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
मन्त्री तिमिल्सिनाले यस आर्थिक वर्षमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसञ्चार सेवामा सुधार ल्याइने बताएका छन्। गुणस्तरीय र भरपर्दो सेवा प्रवाह, आधुनिक दूरसञ्चार पूर्वाधारको विकास, सार्वजनिक सञ्चार प्रणालीलाई थप सुदृढ बनाउने तथा परिणाममुखी कार्यसम्पादनमार्फत सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
सरकारले फोरजी सेवाको पहुँच र गुणस्तर थप विस्तार गर्दै डिजिटल पूर्वाधार सुदृढ बनाउने तथा त्यसको आधारमा नेपालमा पहिलो पटक व्यावसायिक रूपमा फाइभजी सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको जनाएको छ।