खलङ्गा (दार्चुला) । दार्चुलाको दुर्गम व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै पनि महाकाली नदी तर्न जोखिमपूर्ण तुइनकै भर पर्न बाध्य छन्। बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामग्री ओसारपसारसम्मका लागि स्थानीयले ज्यानको बाजी लगाएर तुइन प्रयोग गर्दै आएका छन्।
दुम्लिङ र भारतको गर्बाधारलाई जोड्ने महाकाली नदीमाथि स्थानीयले अस्थायी तुइनमार्फत आवतजावत गर्दै आएका छन्। महाकाली दुई देशको साझा नदी भएकाले स्थायी संरचना निर्माणका लागि नेपाल र भारत दुवैको सहमति आवश्यक पर्ने हुँदा स्थानीयहरू वर्षौंदेखि सुरक्षित झोलुङ्गे पुलको प्रतीक्षामा छन्।
वर्षायाममा नदीको बहाव बढेसँगै तुइनबाट यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ। उपचार, शिक्षा, रोजगारी तथा दैनिक आवश्यकताका लागि तुइनको विकल्प नभएको स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो। नेपालतर्फको सडक पहुँच कमजोर भएकाले दुम्लिङ पुग्न वर्षायाममा सवारी सञ्चालनसमेत सम्भव नहुने अवस्था छ।
व्यास गाउँपालिका–२ का वडाअध्यक्ष धिरन बुढाथोकीका अनुसार २०५२ सालदेखि दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको माग गरिए पनि हालसम्म पूरा हुन सकेको छैन।
उहाँले भन्नुभयो, "तुइनको जोखिमपूर्ण यात्रा हाम्रो रहर होइन, बाध्यता हो। ३१ वर्षदेखि उठाउँदै आएको जनताको माग सरकारले अझै सुनेको छैन।"
स्थानीयका अनुसार तुइन प्रयोग गर्दा भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा पुग्न एकदेखि डेढ घण्टा लाग्छ। तर नेपालतर्फको बाटो प्रयोग गर्दा गाडीबाट करिब एक दिन र पैदल दुई दिनसम्म लाग्ने अवस्था छ। भारततर्फ कालोपत्रे सडक भए पनि नेपालतर्फ सुन्सेराभन्दा माथिको सडक अझै प्रभावकारी रूपमा सञ्चालनमा छैन।
तुइनबाट महाकाली नदी पार गर्ने क्रममा हालसम्म ३६ जनाले ज्यान गुमाएको तथ्याङ्क वडा कार्यालयसँग रहेको छ। तीमध्ये २३ जनाको आधिकारिक अभिलेख वडा कार्यालयमा रहेको र बाँकी घटनाको अभिलेख उपलब्ध नभएको जनाइएको छ। विसं २०५० देखि २०८२ असार मसान्तसम्मका घटनामा अधिकांश व्यक्ति नदीमा खसेर बेपत्ता भएका छन्।
स्थानीयले दुम्लिङ क्षेत्रमा झोलुङ्गे पुल निर्माण गरिदिन सरकारसँग पुनः माग गरेका छन्। उनीहरूका अनुसार नजिकैको मालगाउँमा पुल भए पनि त्यहाँ पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्ने भएकाले दुम्लिङकै आसपास सुरक्षित पुल निर्माण अपरिहार्य भएको बताएका छन्।
हाल दार्चुलाका लेकम–३ लाली, मालिकार्जुन–६ उकु, व्यास–२ मालगाउँ, व्यास–४ मलघट्टे र व्यास–६ बडूगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भइसकेका छन्। तर करिब ११५ घरधुरी रहेको दुम्लिङ बस्तीका बासिन्दा भने अझै पनि जोखिमपूर्ण तुइनकै भरमा दैनिक जीवन चलाउन बाध्य छन्।