सुदूरपश्चिमको विकास र बजेट कार्यान्वयनबारे प्रधानमन्त्री–सांसद संवाद

1.6k Shares

काठमाडौं,  प्रधानमन्त्री बलेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग भेटघाट तथा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सुदूरपश्चिमका विकास आयोजना, पूर्वाधार निर्माण, बजेट कार्यान्वयन, विपद् व्यवस्थापन तथा जनजीविकासँग सम्बन्धित विषयमा विस्तृत कुराकानी भएको जनाइएको छ।

छलफलका क्रममा सांसदहरूले सुदूरपश्चिमका सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत् विस्तार, सिंचाइ, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनासम्बन्धी योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको विशेष ध्यान आवश्यक रहेको बताएका थिए। उनीहरूले चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रम समयमै कार्यान्वयन गर्न र राष्ट्रिय गौरवका आयोजनामा देखिएका ढिलाइ हटाउन आग्रह गरेका थिए।

त्यसैगरी, मनसुनका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न, नदी नियन्त्रण तथा जोखिम न्यूनीकरणका दीर्घकालीन योजना अघि बढाउन पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका सुझाव र मागलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममुखी काममा सरकार केन्द्रित रहेको धारणा व्यक्त गरेका थिए। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाएर सुदूरपश्चिमका विकासका प्राथमिकताहरूलाई शीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाएका थिए।

बैठकमा सुदूरपश्चिम प्रदेशका समग्र विकास, लगानी विस्तार, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले प्रदेशगत आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा विकास कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन्तुलित क्षेत्रीय विकासलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको जनाएको छ।

सम्बन्धित समाचार