काठमाडौं, १९ साउन । नेकपा (एमाले) ले चार जनाको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने जनाएको छ।
मंगलबार जारी वक्तव्यमा एमालेले घटनाले सरकारको सुरक्षा, शान्ति व्यवस्था र संकट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ। पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
एमालेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि सरकारलाई आग्रह गरेको छ।
पार्टीले जनधनको क्षति हुने गरी भएको घटनाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गरी जवाफदेही बन्नुपर्ने धारणा सार्वजनिक गरेको छ।