सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ : भीष्मराज आङदेम्बे

1.7k Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीसहित विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लामा भएका घटनाका क्रममा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।

“सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लामा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ,” उनले भने।

आङदेम्बेले घटनाका क्रममा भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। साथै, निष्पक्ष, विश्वसनीय र स्वतन्त्र छानबिनका लागि न्यायिक आयोग वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याए।

सुनसरीको देवानगञ्जमा भएको हिंसापछि तराईका विभिन्न जिल्लामा तनाव फैलिएको थियो। घटनापछि सरकारले पीडित परिवारसँग सहमति गर्दै निष्पक्ष अनुसन्धान, कानुनी कारबाही, क्षतिपूर्ति तथा अन्य राहतका प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार