मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय, लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

1.2k Shares

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौं निवासी याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको जानकारी दिनुभयो।

7c779a6c-7c93-464b-94ae-10f40a29add1.jpg

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर)लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिइएको छ। साथै, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्ले हालै सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णय

  1. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
  2. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङकी उक्यावलाई नियुक्त गर्ने।
  3. नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरी नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने।
  4. पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने।
  5. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति दिने।
  6. विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने।
  7. सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने।
सम्बन्धित समाचार