मनकामना मन्दिरमा भक्तजनका लागि स्वास्थ्य सहायता कक्ष स्थापना

1.1k Shares

गोरखा । मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरूले अब मन्दिर परिसरमै प्राथमिक स्वास्थ्य उपचार सेवा पाउने भएका छन्। मनकामना क्षेत्र विकास समिति र शहीद लखन गाउँपालिकाको संयुक्त सहकार्यमा मन्दिर परिसरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो।

बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापाले स्वास्थ्य सहायता कक्षको उद्घाटन गरेका हुन्। कक्षबाट इसिजीसहितको प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातका अनुसार वार्षिक रूपमा लाखौं भक्तजन दर्शनका लागि आउने र लामो समय निराहार अवस्थामा लाइन बस्दा स्वास्थ्य समस्या देखिने भएकाले यस्तो सेवा सुरु गरिएको हो। विगतमा स्वास्थ्य समस्या भएर ज्यान गुमाएका घटनालाई समेत ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको उनले बताए।

उक्त सहायता कक्षबाट मन्दिर दर्शन गर्न आउने भक्तजनका साथै स्थानीय वृद्धवृद्धा तथा अशक्त नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ। आवश्यक स्वास्थ्यकर्मी शहीद लखन गाउँपालिकाले उपलब्ध गराउनेछ भने व्यवस्थापनको जिम्मेवारी मनकामना क्षेत्र विकास समितिले लिने जनाएको छ।

कक्ष सञ्चालनका लागि आवश्यक मेडिकल सामग्री मनकामना दर्शन प्रालिले उपलब्ध गराएको छ। साथै, नियमित सञ्चालनका लागि आवश्यक मासिक खर्च व्यवस्थापन गर्न मन्दिरका मूल पुजारी इन्सान थापा मगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार