नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह

834 Shares

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्ले साहलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्रक्रियामा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशकसमेत रहेका साह उत्कृष्ट तीन उम्मेदवारभित्र पर्न सफल भएका थिए।

अन्तिम प्रतिस्पर्धामा नागेन्द्र साहसँगै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए। निगममा लामो समयदेखि काम गरेको अनुभव, संस्थागत नेतृत्व क्षमता तथा इन्धन आपूर्ति व्यवस्थापनमा योगदानलाई आधार मान्दै साहलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको जनाइएको छ।

नवनियुक्त कार्यकारी निर्देशक साहले जिम्मेवारी सम्हाल्नेबित्तिकै देशभर देखिएको एलपी ग्यास अभावको समस्या समाधान गर्नुपर्ने चुनौती सामना गर्नेछन्। पछिल्ला दिनमा ग्यास आपूर्तिमा समस्या देखिएपछि विभिन्न स्थानमा उपभोक्ता ग्यासका लागि लामो लाइनमा बस्न बाध्य भएका छन्।

इन्धन तथा खाना पकाउने ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्दै बजारमा देखिएको अभाव अन्त्य गर्नु साहको पहिलो प्राथमिकता हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार