नयाँ वैकल्पिक पार्टीका लागि नयाँ विचार र नेतृत्व आवश्यक : बाबुराम भट्टराई

1k Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा फेरि एकपटक राजनीतिक दलहरूको विघटन, पुनर्गठन तथा नयाँ राजनीतिक शक्ति निर्माणको चक्र सुरु भएको अनुभूति भइरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो प्रक्रिया प्रकृति, समाज र राजनीतिक विचार (पार्टी) को विकासक्रमअनुसार स्वाभाविक र अनिवार्य रहेको उल्लेख गरेका हुन्।

भट्टराईले पुरानै नेता, विचार र प्रणालीलाई सामान्य रूपमा फेरबदल गरेर वा नयाँ आवरण दिएर मात्रै नयाँ युगको आवश्यकता पूरा गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन नसक्ने बताएका छन्।

उनका अनुसार देश र समयअनुकूल नयाँ विचार, नीति, कार्यक्रम, नेतृत्व तथा संगठनसहितको समग्र प्याकेज भए मात्रै अग्रगामी र दिगो वैकल्पिक दल निर्माण सम्भव हुन्छ।

Screenshot 2026-08-07 103330.png

उनले कुनै पनि रूपान्तरणकारी राजनीतिक दलको केन्द्रमा स्पष्ट विचार र सिद्धान्त अपरिहार्य हुने उल्लेख गर्दै विचारविहीन दलले देशलाई सही दिशा दिन नसक्ने धारणा व्यक्त गरेका छन्।

भट्टराईले वर्तमान वित्तीय भूमण्डलीकरण, आन्तरिक जडता र बाह्य परनिर्भरताको दुष्चक्रबाट गुज्रिरहेको बहुवर्गीय तथा बहुजातीय नेपाली समाजमा राजनीतिक दलहरूले समयअनुकूल वैचारिक विकास गर्न नसक्नु नै सबैभन्दा ठूलो समस्या र विडम्बना भएको बताएका छन्।

उनले दलहरू पुरानै वैचारिक जडताबाट माथि उठ्न नसक्दा मुलुकको रूपान्तरणका लागि आवश्यक नयाँ राजनीतिक विकल्प स्थापित हुन कठिन भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार