जसपासहित सात दलले ‘अग्रगामी मोर्चा’ गठन गर्ने

1.5k Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्।

जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा नयाँ राजनीतिक मोर्चा घोषणा गर्न लागेका हुन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङ का अनुसार मोर्चा घोषणा कार्यक्रम साउन २३ गते शनिबार दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजना गरिनेछ।

मोर्चा घोषणा कार्यक्रममा सात दलका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा नवगठित मोर्चाको उद्देश्य, संगठनात्मक संरचना, साझा राजनीतिक एजेन्डा तथा भावी कार्यदिशाबारे औपचारिक जानकारी गराइनेछ।

मोर्चामा आबद्ध दलहरूले संघीय लोकतान्त्रिक व्यवस्था, समावेशिता, सामाजिक न्याय र अधिकारका मुद्दालाई साझा रूपमा अघि बढाउने तयारी गरेका छन्। आगामी राजनीतिक परिस्थितिलाई लक्षित गर्दै दलहरूबीच सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले मोर्चा गठन गर्न लागिएको नेताहरूको भनाइ छ।

सात दलको यो नयाँ राजनीतिक सहकार्यलाई आगामी राजनीतिक समीकरण र राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको प्रयासका रूपमा समेत हेरिएको छ।

सम्बन्धित समाचार