बागलुङ । कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नदीले गरेको कटानका कारण बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल जोखिममा परेको छ ।
नदीमा आएको बाढीले पुलको पर्वततर्फको पिल्लर छेउको पर्खाल कटान गरेको छ । कालीगण्डकी उर्लिएर आएपछि पुलको तल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
हाल पुलबाट यातायात सञ्चालन भइरहे पनि जोखिमलाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । नदीमा पानीको सतह ह्वात्तै बढेपछि पुलको तल्लो क्षेत्रमा थप कटान हुनसक्ने जोखिम रहेको प्रहरीको भनाइ छ ।
मालढुङ्गा पुलबाट दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु आवतजावत गर्ने गर्छन् । पुलमा क्षति बढ्दै गएमा बागलुङसँगै पश्चिम नेपालका विभिन्न जिल्लासँगको यातायात प्रभावित हुनसक्ने देखिएको छ ।
यसैगरी, कालीगण्डकीको जलस्तर बढेपछि मालढुङ्गा क्षेत्रका बस्तीसमेत जोखिममा परेका छन् । नदी आसपास बसोबास गर्ने स्थानीयलाई सम्भावित जोखिमबाट जोगिन तथा आवश्यक सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
मालढुङ्गा पुल हुँदै बागलुङका साथै गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्लामा सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
नदीको बहाव निरन्तर बढेमा पुलको संरचनामा थप क्षति पुग्नसक्ने भएकाले सम्बन्धित निकायले पुलको अवस्थाको नियमित अनुगमन तथा आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने देखिएको छ ।