अवैध मदिरासहित दुई भारतीय नागरिक पक्राउ

1k Shares

काठमाडौं । भारतबाट बुटवल हुँदै पोखरातर्फ जाँदै गरेको कारबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद भएपछि प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँचका क्रममा यूपी ३२ एसटी ४२८६ नम्बरको कारमा लुकाइछिपाइ ल्याइएको मदिरा फेला परेको हो ।

प्रहरीले कारबाट ७५० मिलिलिटरका ६११ बोतल ‘वल्ड मङ्क’ र १२ बोतल ‘सिग्नेचर’ ब्रान्डका मदिरा बरामद गरेको जनाएको छ । बरामद मदिराको अनुमानित बजार मूल्य सात लाख ५१ हजार दुई सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले मदिरा र कारसहित भारतको लखनउ बस्ने ३७ वर्षीय चालक एमा मोदिन र कारमा सवार ४३ वर्षीय शिवनाथ मौर्यलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमाथि अवैध रूपमा मदिरा ओसारपसार गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार