प्रतिनिधिसभाको बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने

1.6k Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

विधेयकले मुलुकमा खानी तथा खनिज पदार्थको खोज, उत्खनन, व्यवस्थापन तथा उपयोगसम्बन्धी कानुनी व्यवस्थालाई समेट्ने अपेक्षा गरिएको छ। प्रस्तावमाथि सांसदहरूले धारणा राख्नेछन्।

यसैबीच आजै संघीय संसद्का दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ। बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा र संसदीय समितिका बैठकमा समसामयिक कानुनी, आर्थिक तथा सुशासनसम्बन्धी विषयमा छलफल हुने भएकाले आजको संसदीय गतिविधिलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार