अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाले गण्डकीका जिल्लामा युवाकेन्द्रित कार्यक्रम गर्ने

1.2k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेशका विभिन्न जिल्लामा युवाकेन्द्रित कार्यक्रम आयोजना गर्ने भएको छ।

रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार प्रदेश समितिको आयोजनामा पोखरामा ‘युवा संवाद’ कार्यक्रम हुनेछ। रास्वपा प्रमुख सचेतक तथा पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा युवाका सवाल, अवसर, चुनौती तथा समसामयिक विषयमा छलफल गरिनेछ।

यसैगरी कास्की जिल्ला समितिले पोखरा कारागारमा बृहत् सरसफाइ, नीति मन्थन तथा जेनजी आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ। युवालाई सामाजिक उत्तरदायित्व र सार्वजनिक सरोकारका विषयसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ।

स्याङ्जामा युवा प्रोत्साहन कार्यक्रमसँगै रक्तदान र वृक्षरोपण गरिनेछ। पर्वतमा रक्तदान, वृक्षरोपण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी छ।

त्यस्तै, तनहुँमा नीति मन्थन कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ। नवलपुरमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।

लमजुङमा सरसफाइ र वृक्षरोपण तथा म्याग्दीमा युवा प्रोत्साहन कार्यक्रमसँगै सरसफाइ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। बागलुङ र गोरखामा भने कार्यक्रमबारे निर्णय हुन बाँकी रहेको रास्वपाले जनाएको छ।

मनाङ र मुस्ताङमा पनि कार्यक्रम आयोजना गर्ने तयारी भए पनि त्यसको मिति र स्वरूप अझै तय भइसकेको छैन।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने यी कार्यक्रममार्फत युवालाई सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना, लागुऔषधविरुद्धको अभियान तथा नीतिगत बहसमा सहभागी गराउने रास्वपाको तयारी छ।

रास्वपाले युवा सहभागितालाई राजनीतिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र सार्वजनिक सेवासँग जोड्ने उद्देश्यले जिल्लास्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

सम्बन्धित समाचार