काठमाडौं । विद्युतीय सवारीसाधनको नेपाली बजारमा अग्रणी चिनियाँ ब्राण्ड बीवाईडीले एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले अट्टो १, अट्टो २ र अट्टो ३ का नयाँ तथा फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले विशेषगरी अट्टो २ को ४५ किलोवाट आवर ब्याट्री भएको बेस भेरियन्ट तथा अट्टो ३ को फेसलिफ्ट संस्करण बजारमा ल्याएको जनाएको छ। नयाँ मोडल थपिएसँगै नेपालमा बीवाईडीको अट्टो सिरिज थप फराकिलो भएको छ।
यसअघि नेपालमा ५१.१३ किलोवाट आवर ब्याट्रीसहित उपलब्ध अट्टो २ मा अब ४५ किलोवाट आवर ब्याट्री भएको नयाँ बेस भेरियन्ट थप गरिएको छ।
कम्पनीले अट्टो २ को नयाँ बेस भेरियन्ट तुलनात्मक रूपमा कम मूल्यमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरेको जनाएको छ।
अट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
बीवाईडीले नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको अट्टो ३ को फेसलिफ्ट संस्करणसमेत सार्वजनिक गरेको छ।
नयाँ अट्टो ३ मा बाहिरी डिजाइनसँगै चार्जिङ तथा प्रविधिमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ। यसको एड्भान्स भेरियन्टको मूल्य ६२ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको मूल्य ७८ लाख रुपैयाँ तोकिएको छ।
बीवाईडीले आफ्नो सानो इलेक्ट्रिक ह्याचब्याक अट्टो १ को फेसलिफ्ट संस्करण पनि नेपाल ल्याएको छ। अट्टो १ लाई मुख्यतः सहरकेन्द्रित तथा इन्ट्री लेभल विद्युतीय सवारीका रूपमा लक्षित गरिएको छ।
अट्टो १ को फेसलिफ्ट डायनामिक भेरियन्टको बजार मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
नेपालमा उपलब्ध अट्टो १ को डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर ब्याट्री र करिब २३० किलोमिटर रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ। फेसलिफ्ट संस्करणमा डिजाइन तथा फिचरमा परिमार्जन गरिएको छ।
नयाँ अट्टो १ मा वायरलेस चार्जर र ३६० डिग्री क्यामेरा लगायतका सुविधा थप गरिएको छ।
एकैपटक अट्टो सिरिजका तीन मोडल थपिएसँगै बीवाईडीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो मोडल र मूल्य दायरा अझ विस्तार गरेको छ। कम्पनीले फरक मूल्य तथा सुविधाका आधारमा विभिन्न वर्गका ग्राहकलाई लक्षित गर्दै अट्टो सिरिज विस्तार गरेको हो।