गणपूरक संख्या नपुग्दा संसद् बैठक स्थगित, सांसदको ‘हाटा’ प्रवृत्तिमाथि प्रश्न

1.3k Shares

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको छलफल अघि बढ्न सकेन। बैठकमा आवश्यक ६९ जना सांसद उपस्थित हुनुपर्नेमा ६१ जना मात्र उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक एक साताका लागि स्थगित गरेका हुन्।

खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै सांसद संख्या गणना गर्न माग गरेका थिए। त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा पनि आवश्यक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।

गणपूरक संख्या पुगेको भए विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि ७२ घण्टाको समय सुरु हुने थियो। तर सांसदको पर्याप्त उपस्थिति नहुँदा विधेयकमाथिको कार्यसूची अब एक सातापछि मात्र अघि बढ्ने भएको छ।

नाम बोलाउँदा सांसद नै अनुपस्थित

प्रतिनिधिसभा बैठकमा सांसदहरू हाजिर गरेर केही समयपछि बाहिरिने तथा आफूले बोल्न नाम टिपाए पनि बोलाउने समयमा सभाकक्षमा उपस्थित नहुने प्रवृत्ति बढ्दै गएको देखिएको छ।

मंगलबारको बैठकमा उपसभामुख रुवी ठाकुरले सांसद रिना उप्रेतीलाई बोल्न समय दिएकी थिइन्। त्यसपछि तयारी अवस्थामा रहेका सांसद अरविन्द साहको नाम बोलाइयो। तर दुवै सांसद सभाकक्षमा उपस्थित थिएनन्।

उपसभामुखले रिना उप्रेतीको नाम तीन पटकसम्म बोलाएपछि अरविन्द साहलाई समय दिइन्। साह पनि सभाकक्षमा नभेटिएपछि उनको नामसमेत तीन पटक बोलाएर अर्का सांसद गंगालक्ष्मी अवाललाई बोल्न समय दिइएको थियो। लगातार सांसदहरू अनुपस्थित भएपछि सभाकक्षमा रहेका सांसदहरू हाँसेका थिए।

सभामुख वा उपसभामुखले तीन पटकसम्म नाम बोलाउँदा पनि सम्बन्धित सांसद उपस्थित नभए अर्को सांसदलाई बोल्न समय दिने अभ्यास संसद्मा रहँदै आएको छ। तर यस्तो अवस्था पटक–पटक दोहोरिन थालेपछि सांसदहरूको जिम्मेवारी र संसदीय अनुशासनमाथि प्रश्न उठ्न थालेको छ।

बढ्दो ‘हाटा’ प्रवृत्ति

सांसदहरू बैठकमा उपस्थित भएर हाजिरी जनाएपछि बाहिरिने प्रवृत्तिलाई संसद्मा ‘हाटा’ भनेर व्यङ्ग्य गर्ने गरिएको छ। बैठकमा हाजिर गर्ने तर महत्त्वपूर्ण समयमा सभाकक्षमा उपस्थित नहुने अवस्थाले संसद्को प्रभावकारिता र गरिमामाथि प्रश्न उठाएको छ।

यसअघि २२ असारमा बसेको प्रतिनिधिसभा बैठकमा पनि बोल्नका लागि नाम टिपाएका राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराई र नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बा आफ्नो पालो आउँदा सभाकक्षमा उपस्थित थिएनन्। दुवैको नाम तीन–तीन पटक बोलाउँदा पनि उपस्थित नभएपछि अर्का सांसदलाई बोल्ने अवसर दिइएको थियो।

रास्वपाले आफ्ना सांसदको हाजिरी विश्लेषण गर्ने

सांसदहरूको कमजोर उपस्थितिलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक अध्ययन थालेको छ। बैठकमा सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढेको र त्यसले संसद्को गरिमा कमजोर बनाउने देखिएकाले हाजिरी विवरण विश्लेषण गर्न लागिएको पार्टी संसदीय दलको कार्यालयले जनाएको छ।

संसद् सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न रास्वपाका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।

यसअघि अनलाइनखबरले संघीय संसद् सचिवालयबाट सूचनाको हक प्रयोग गरी सांसदहरूको हाजिरी विवरण प्राप्त गरेको थियो। उक्त विवरणमा शीर्ष नेताहरूको समेत उपस्थिति कमजोर देखिएको र शतप्रतिशत बैठकमा सहभागी हुने सांसदको संख्या निकै कम रहेको उल्लेख गरिएको थियो।

संसदीय सुधारको माग

सांसदहरूको अनुपस्थितिको विषयलाई लिएर प्रतिनिधिसभामै संसदीय सुधारको मागसमेत उठेको छ। रास्वपाका सांसद विपिन आचार्यले साउन २५ गते प्रतिनिधिसभामा बोल्दै अहिलेको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै संसदीय सुधार समिति गठन गर्न माग गरेका थिए।

संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन सांसदहरूबीच नै छलफल तथा समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।

आचार्यले संसद्को समीक्षा गर्दा सांसदहरूको उपस्थिति, सांसदले दिएका संशोधनबाट विधेयकमा भएको सुधार, संसदीय समितिको काम, शून्य, विशेष तथा आकस्मिक समयमा उठाइएका विषयको सम्बोधन र सांसदहरूको प्रस्तुति जस्ता विषयलाई मापदण्ड बनाउनुपर्ने धारणा राखेका छन्।

संसद्मा मात्र नभई संसदीय समितिका बैठकमा समेत सांसदहरू हाजिर गरेर बाहिरिने प्रवृत्ति देखिएको छ। गत २९ वैशाखमा सार्वजनिक लेखा समितिको बैठकमा २४ जना सांसदको हाजिरी देखिए पनि बैठकको अन्तिम समयमा सभापतिले सम्बोधन गर्दा ११ जना सांसद मात्र बाँकी रहेका थिए।

सांसदहरूको निरन्तर अनुपस्थिति र हाजिर गरेर बाहिरिने प्रवृत्तिले संसद्को कामकारबाहीमा प्रत्यक्ष असर पार्न थालेपछि राजनीतिक दलहरूले आफ्ना सांसदको उपस्थिति र जिम्मेवारीप्रति थप निगरानी गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार